जंगलमा घाँस काट्न गएकी महिलामाथि बलात्कार


महोत्तरी, पुस १२ । महोत्तरीको गौशालामा घास काट्न जंगल गएकी एक महिला बलात्कृत भएकी छिन् । गौशाला नगरपालिका वडा नं. १ रामनगर घर भएकी एक ३५ बर्षिया महिलामाथि बलात्कार भएको हो ।
ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी स्थानीय ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको हो । बलात्कार गरी आरोपीले भिडिओसमेत बनाएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार सोमबार राति रामनगरका पञ्चहरू घटना मिलाउन बसेका थिए । पैसा लेनदेन गरी गाउँमै मिल्न पीडित महिला र उनका परिवारलाई उनीहरूले दबाब दिएका थिए । तर घटनाबारे प्रहरीले जानकारी पाइसकेको र भिडिओ अन्य व्यक्तिहरू समक्ष समेत पुगिसकेकाले मिलाउँदा फस्ने देखेपछि पञ्चहरू पछि हटेको स्थानीय बताउँछन् ।
घटनापश्चात आरोपित यादव फरार रहेकोले उनको खोजकार्य भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए । यता प्रहरीले घटनाको सम्बन्धमा सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले बताएका छन् ।





