बारामा फरार ‘सार्प सुटर’लाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो


काठमाडौं, पुस ११ । बारामा प्रहरीले एकजना ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ । भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजितकुमार सिंहलाई मंगलबार राती नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
प्रवक्ता न्यौपानेका अनुसार गएराति आठ बजे बाराको विश्रामपुर गाँउपालिका—३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा भाग्न खोजेपछि खुट्टामा गोली हान्नुपरेको हो । सिंहको दुवै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भइरहेको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसमेत बरामद गरेको छ ।
पक्राउ परेका सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीले जनाएको छ । गत कात्तिक १३ गते प्रिन्सिपल स्वर्णकारको हत्या भएको थियो । कलैया उपमहानगरपालिका—६ स्थित मदरसा टोलमा उनीमाथि गोली प्रहार भएको थियो ।
यसका अतिरिक्त बारामा भएका अन्य घटनामा पनि संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए ।





