रोल्पामा ट्रयाक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

जगत ठाडा मगर
२०८० पुस १० | बिहान ०९:०९ बजे

रोल्पा, पुस १० । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ बर्जिवाङको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार राति खर बोकेर खुङ्ग्रीदेखि सानो नम्जातर्फ जाँदै गरेको लु १ त ४९७० नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा सुनिलस्मृति गाउँपालिका– ७ तेवाङका २१ वर्षीय चालक तिलक विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक नारायण गुप्ताले जानकारी दिए ।
यस्तै दुर्घटनामा लुङग्री गाउँपालिका– ४ सानो नम्जाका ४२ वर्षीय लिलामणि विष्ट गम्भीर घाइते भएका छन् । घाइते विष्टलाई थप उपचारका लागि बुटवल लगिएको जिल्ला प्रहरी प्रवक्ता गुप्ताले जानकारी दिए।
ट्रयाक्टर सडकदेखि झन्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।





