प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

जगत ठाडा मगर
२०८० पुस १० | बिहान ०७:०९ बजे

काठमाडौं, पुस १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् । साथै विभिन्न कारणले अपेक्षित काम गर्न नसकेको भन्दै उनले बाँकी एक वर्षमा गति बढाउने बताएका छन् ।





