नवलपरासीमा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्ने गिरोह पक्राउ (भिडियोसहित)


नवलपरासी, पुस ९ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका विभिन्न स्थानबाट शृङ्खलाबद्ध चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुको घरबाट चोरी गरेका समानहरुसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नं. १ घर भई हाल सुनवल नगरपालिका वडा नं.३ खैरेनी बस्ने अन्दाजी २१ वर्षीय अविनाश पंगेनी, गुल्मी मुसीकोट नगरपालिका वडा नं.९ घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी १९ वर्षीय सुवाष विश्वकर्मा र रोल्पाको खुमेल गाउँपालिका वडा नं.३ घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी १९ वर्षीय मिलन घर्ति मगर रहेका छन् ।
अपरचित व्यक्तिहरुले चोरी गरिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दै जादाँ उनीहरुलाई शंकास्पद अवस्थामा फेलापारी सोधपुछ गर्ने क्रममा सत्यतथ्य बाहिर आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रेशम बोहराले जानकारी दिए ।
डीएसपी बोहराका अनुसार उनीहरुले सुनवल नगरपालिका अन्तर्गत विभिन्न व्यक्तिहरुको घरबाट चोरी गरेका सामानहरु आफ्नो डेराकोठामा लुकाई छिपाई गरी राखेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुको डेराकोठामा गई रितपुर्वक खानतलासी गर्दा विभिन्न सामानहरु बरामद गरिएको हो ।
प्रहरीले उनीहरुको कोठाबाट ओप्पो कम्पनीको स्क्रिन फुटेको कालो रङको मोबाईल १ थान, भिजन कम्पनीको स्क्रिन फुटेको मोबाईल १ थान, टेक्नो कम्पनीको स्क्रिन फुटेको मोबाईल १ थान, भाइगोअर कम्पनीको निलो फिता र स्पोर्ट कम्पनीको सेतो फिता भएको घडी २ थान बरामद गरिएको हो ।
साथै एचपी कम्पनीको पेनड्राईप १ थान, कार्डरिटर १ थान, चाँदीको बाला २ थान, ग्यास चुलो (अटोमेटिक) १ थान, ग्यास सिलिण्डर १ थान, हेडफोन १ थान, ३ लिटरको प्रेसर कुकर १ थान, स्टिलको थाल २ थान, ईलेक्ट्रोनिक जग १ थान र तामाको सानो ठूलो पाला ४ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै गत शनिबार रातीको समयमा नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ५ स्थित जनस्वास्थ्य कार्यालय परासीको तीन तले भवनको दोस्रो तलामा बरिष्ठ मलेरिया ईन्स्पेक्टर देविलाल पौडेलको कार्यकक्षबाट सामानहरु चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । ईन्स्पेक्टर पौडेलको कार्यकक्षबाट चोरी भएका अन्दाजी मूल्य रू.७५ हजार बराबरको कम्प्युटर सेट १ थान र अन्दाजी मूल्य रू.३८ हजार बराबरको भुई तलामा राखेको निलो रङको माउन्टेन साईकल १ थान भएको थियो ।
चोरी भएको खबर पाउनासाथ जिल्ला कार्यालयबाट प्रहरी टोली परिचालन भई खोजतलास गर्ने क्रममा आज (सोमबार) बिहान नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ६ पोखरापाली बस्ने वर्ष १९ का कृष्णमोहन अग्रहरी बनिया र सोही नगरपालिका वडा नं.५ बस्ने वर्ष २७ का अमृत अग्रहरीलाई प्रहरीले चोरी गरेको सामानसहित पक्राउ गरिएको डीएसपी बोहराले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ल्याई राखिएको र थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।





