अपराध

    काभ्रेमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित विज्ञान विषयका शिक्षक प्रकाउ 

    जगत ठाडा मगर
    २०८० पुस ९ | बिहान ०९:०९ बजे

      काठमाडौं, पुस ९ । काभ्रेको पाँचखाल नगरपालिका – ६ स्थित जोरपाटी माध्यमिक विद्यालयका नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक र विज्ञान विषयका शिक्षक पक्राउ परेका छन् ।

      कक्षा ९ मा अध्ययनरत एक छात्रामाथि बलात्कार गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ गरिएको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

      पीडित बालिकाको सामाजिक सञ्जालमार्फत उनका साथीहरूले घटनाबारे थाहा पाएपछि नगरपालिकालाई खबर गरिएको थियो । खबरपछि विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाइएको हो ।

      एक जनप्रतिनिधिका अनुसार विज्ञान शिक्षक श्रेष्ठले दसैं तिहारको बीचको बिदामा बालिकालाई ललाइ फकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको छ । त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरूले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाउने गरेको देखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।  

      पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय काभ्रे लगिएको छ । पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रकृया अगाडि बढेको डिएसपी श्रेष्ठले जानकारी दिए । 

        कमेन्टहरु