घटना

    प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढका बिनको परिवारलाई १० लाख क्षतिपूर्ति दिइने

    जगत ठाडा मगर
    २०८० पुस ७ | बिहान ०९:०९ बजे
    फाइल तस्बिर।

      बाराक। विगत ६ महिनादेखि बन्द अवस्थामा रहेको बाराको सिम्रोनगढ नगरपालिका खुल्ने भएको छ। नगरपालिकामा कार्यरत रहेका कर्मचारीहरूको लामो समयको आन्दोलनपश्चात शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा सहमति जुटेपछि नगरपालिका खुल्ने सहमति भएको हो।

      मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवको गृह नगर रहेको सिम्रौनगढ नगरपालिका चालु आर्थिक वर्ष सुरु भएदेखिको समयदेखि नै बन्द अवस्थामा रहेको थियाे।

      नगरपालिकामा कार्यरत कर्मचारीहरूले लामो समयदेखि नगरपालिकाको गेटमा धर्ना दिँदै आएका कारण नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प रहेको थियाे।

      सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउँदा एक जना सर्वसाधारणको ज्यानसमेत गइसकेको छ। नगरपालिकामा मेयरले हाकिमलाई हाजिर गराउँदा भएको झडप नियन्त्रणको लागि प्रहरीले गोली चलाउँदा गत हप्ताको बुधबार स्थानीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो।

      बिनकाे मृत्युपश्चात् नेपाली कांग्रेसले सिम्रौनगढ नरपालिकाका मेयर र जनप्रतिनिधि लगायतको कमजोरीका कारण सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै आन्दोलनसमेत गरेको थियो।

      नगरपालिकासँग आन्दोलनरत पक्षको सहमति भएपछि आउँदो आइतबारदेखि नगरपालिका खुल्ने करार कर्मचारी संघ, सिम्रौनगढका अध्यक्ष नितेश यादवले जानकारी दिए।

      उनले आगामी १५ गते भित्रमा कर्मचारीहरूको तलब दिने सहमति समेत भएको बताए।

      आन्दोनल गरिरहेका आन्दोलनरत कर्मचारी र आफूहरूबीच जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा सहमति भएको तथा अब नगरपालिका खोलिने सिम्रौनगढका मेयर किशोरी प्रसाद कलवारको भनाइ छ।

      आन्दोलनकै क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका लक्ष्मी मुखिया बिनको परिवारलाई पनि १० लाख क्षतिपूर्ति दिने, एक जनालाई नगरपालिकामा रोजगारी दिने लगायतका सहमति भएको उनले बताए।

        कमेन्टहरु