मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिन्छु : प्रधानमन्त्री प्रचण्ड


मोरङ, पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने बताए । प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने उनले उल्लेख गरे । “आफूले सहमति व्यक्त गरेर प्रतिबद्धता जनाएका कतिपय काम पनि पूरा गरेका छैनन् ।” उनले भने “त्यस्ता मन्त्रालयको पुनर्गठन, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु ।”
उनले आफूले प्रधानमन्त्रीका रूपमा तेस्रोपटक जिम्मेवारी लिएपछि सुशासन र सामाजिक न्यायको पक्षमा काम गरेको जिकिर गरे । “मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको एक वर्ष पुग्दै छ । योबीचमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु,” प्रधानमन्त्री प्रचण्डले भने ।
उनले जिम्मेवारी सम्हालेको एक वर्ष पुुगेको अवसरमा सम्बोधन गर्ने तयारी गरिएको जानकारी गराए । उनले वर्तमान सरकारको नेतृत्व गरेको यही पुस १० गते एक वर्ष पुग्दै छ ।





