घटना

    नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते

    जगत ठाडा मगर
    २०८० पुस ६ | मध्यान्ह १२:०९ बजे
    प्रतिकात्मक तस्बिर

      नवलपुर, पुस ६ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका- ५ पतवारीमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन् । स्थानीय ७६ वर्षीया मन कुमारी बोहरा घाइते भएको प्रहरीले जनाएको छ ।

      तल्लो तला खरले छाएको र माथिल्लो तला जस्ताले छाएको आफ्नै घरको भान्सा कोठामा आगोतापी रहेको अवस्थामा अचानक बोहराको साडिमा आगो सल्किन गएको हो । सोही आगो निभाउने क्रममा छानोमा आगो सल्किन गई उक्त भान्सा संगै जोडिएर रहेको गोठमासमेत आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

      प्रहरीका अनुसार आगलागीबाट गोठमा रहेका बाख्राको दुई वटा पाठापाठी जलेर घाईते भएको छ । यस्तै मन कुमारीको कम्मरको भागदेखी तल जलेको छ । उनको उपचारको लागी बुहारी सान्ति बोहराको साथमा मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ ।

      प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट करिब एक लाख रुपैयाँँ बराबरको क्षती भएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु