एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्ने युवकविरुद्ध दोस्रो पटक म्याद थप


विराटनगर । मध्यपहाडी संकल्प यात्राको क्रममा गत मङ्सिर २८ गते धनकुटाको लेगुवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास गर्ने युवकलाई दोस्रो पटक म्याद थप गरेको छ ।
अध्यक्ष ओलीलाई आक्रमण प्रयास गर्ने धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का महेश राईलाई अभद्र व्यवहारमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको थियो । प्रहरीले बिहीबार पुनः म्याद थप गरेको हो ।
धनकुटाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाद कोइरालाले ७ दिनको म्याद गुज्रिएपछि पुनः म्याद थप गरिएको जानकारी दिएका छन् । स्वागत गर्ने लाइनमा पुगेर महेशले अध्यक्ष ओलीको टाउकोमा मुड्की हान्ने प्रयास गरेको भिडियोमा देखिन्छ ।
घटनाकै दिन पनि एमाले कार्यकर्ताबाट निर्घात कुटिएका र प्रहरीले हत्कडी लगाएर हिरासतमा राखिएका महेश राईकी श्रीमतीलाई समेत एमाले कार्यकर्ताले धम्क्याएर वक्तव्यबाजी गर्न लगाएको पहिचानवादीहरूको आरोप छ ।
प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले धनकुटाको लेगुवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास गर्ने महेश राईलाई तत्काल रिहा गर्न माग गरेको छ ।





