एक वर्षमै नेपाल वायु सेवाको आम्दानी बढाए २२ अर्ब


काठमाडौँ । नेपाल वायुसेवा निगमले उल्लेखनीय रुपमा आम्दानी बढाएको छ। निगमका अनुसार पछिल्ला तीन वर्षमा आम्दानी १ सय ४४ प्रतिशतले बढाएको छ। महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन अनुसार निगमको गत आर्थिक वर्ष २०७९/८० मा आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ पुगेको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ४५ रुपैयाँ आम्दानी थियो भने आव २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको छ। विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडानमा रहेका छन्। निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको निगमका प्रवक्ता पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाइ अगाडि बढ्ने कार्य भइरहेको निगमको दाबी छ।





