नवलपरासीबाट श्रोत नखुलेको ७ लाख भन्दाबढी रकमसहित एकजना पक्राउ


नवलपरासी, मंसिर २८ । नवलपरासीको रामग्राम नगरपालिका वडा नं ५ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ५९ प ३२३९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक पाल्हीनन्दन गाउँपालिका वडा नं २ हरपुरका १९ वर्षीय मोहम्मद समिर धुनियाको साथबाट स्रोत नखुलेको नेपाली ७ लाख ९ सय रुपैयाँ फेला पारेको हो ।
धुनियाले लगाएको पाइन्टको गोजी र भित्री भागमा लुकाई छिपाई राखेको अवस्थामा उक्त नगद फेला परेको नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
उनका अनुसार रकम र मोटरसाइकलसहित धुनियालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाउने तयारी भइरहेको छ । साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको बोहराले जानकारी दिए ।





