बर्दियामा मन्दिरबाट चोरी गरेको शालिग्रामसहित एक पुरुष पक्राउ

जगत ठाडा मगर
२०८० मंसिर २५ | मध्यान्ह ०६:०८ बजे

बर्दिया, मंसिर २५ । बर्दियामा प्रहरीले मन्दिरबाट चोरी गरेको शालिग्रामसहित एक पुरुषलाई पक्राउ गरेको छ । ठाकुर बाबा नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ठाकुरद्वारास्थित ठाकुर बाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठुलो शालिग्राम १ थान, ३ सय ग्राम बराबरको शालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोस्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर खान तलासी गर्दा चोरी गरेका सामान फेला परेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





