अपराध

    क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि स्थगित

    नवलपुर टुडे
    २०८० मंसिर २४ | मध्यान्ह ०१:०८ बजे

      काठमाडौं । नाबालिगको बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ । पटक–पटक स्थगित हुँदै आएको सन्दीपविरुद्धको मुद्दा आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो ।

      यस दिन न्यायाधीश पाण्डेयको इजलासमा तीन मुद्दा मात्र थियो । सन्दीपको मुद्दा एक नम्बरमा परेको थियो । तर, सन्दीपका कानुन व्यवसायीका तर्फबाट मुद्दा स्थगित गरिएको हो ।

      नेपाल बार एसोसिएसनका तर्फबाट चितवनमा आयोजित मानवअधिकार सम्मेलनमा अधिवक्ताहरू व्यस्त रहेकाले मुद्दा स्थगित गर्नुपरेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

      गत वर्ष कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ)को बलात्कार गरेको सन्दीपमाथि आरोप छ । उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर गरिएको थियो । फैसला भने हुन बाँकी छ ।

      यसअघि, जिल्ला अदालतले वकिलहरूलाई लिखित बहस नोट पेस गर्न यही मंसिर २२ गतेसम्मको समय दिँदै आजका निम्ति पेसी तोकिएको थियो ।

      यसअघि, गौशाला २६ (छ) नाबालिग भए÷नभएको यकिन गर्ने भन्दै अदालतबाट दुई आदेश भएको थियो । त्यसबाहेक न्यायाधीश राजु खतिवडाको इजलासबाट गौशाला २६ (छ) की आमाको उमेर यकिन गर्ने समेत आदेश भएको थियो ।

        कमेन्टहरु