लेकसाइडमा फोटो खिच्नेहरुसँग धम्क्याएर रकम असुल गरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ


पोखरा, मंसिर २३ । पोखरास्थित लेकसाइडको फुट ट्रयाकमा फोटोग्राफी गर्नेहरूबाट अवैधरूपमा रकम असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका – ६ का वडा सदस्य पनि छन् ।
वडा सदस्य ४२ वर्षका दीपेन्द्र पहारी, पोखराको लेकसाइड बस्ने २४ वर्षका अभिषेक परियार, २२ वर्षका प्रवीन विश्वकर्मा र ४१ वर्षका विकास पहारी पक्राउ परेका हुन् । उनीहरुले फुट ट्र्याकमा फोटोग्राफी गरे बापत १५ जना व्यवसायीसँग धम्क्याएर प्रतिव्यक्ति १३ हजार ५ सयका दरले उठाएको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । व्यवसायीहरूले नै उनीहरू विरुद्ध जाहेरी दिएको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
अहिले लेकसाइडमा फोटो भिडियो खिचेर दैनिकी चलाउनेहरू दर्जनौँ छन् । उनीहरुले व्यवसाय दर्ताका लागि वडामा जाँदा व्यवसाय दर्ता नगरी उल्टै वडा सदस्यले ठगी गरेको आरोप छ ।





