हतियार चोरी गरेको आरोपमा काठमाडौबाट ३ जना पक्राउ


काठमाडौं, मंसिर २२ । काठमाडौंमा इजाजत प्राप्त दुई थान हतियार चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका वडा नं ३ घर भई काठमाडौँ महानगरपालिका वडा नं १४ बस्ने ३६ वर्षीय दिलीप माझी, ताहाचल बस्ने २१ वर्षीय कुशल मल्लिक र काभ्रेको धुलिखेल नगरपालिका वडा नं ३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने २७ वर्षीया काजल कुमारी भुजेल रहेका छन् ।
प्रहरी वृत्त कालिमाटीले हतियार चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनीहरूले मंसिर १६ गते ताहाचल बस्ने ७४ वर्षीया पुष्पा जोशीको घरबाट हतियारहरू चोरी गरेको आरोप छ ।
इजाजत पत्रसहित दुई नाले ४१० बोरको बन्दुक एउटा, २२ बोरको राइफल एउटा गरी दुई वटा बन्दुक डाँका-चोरी भएको थियो । अज्ञात समूहले चोरी गरेर लगेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले चोरीमा संलग्नहरूलाई बिहीबार काठमाडौको विभिन्न ठाँउबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले बन्दुक, राइफल, खुँडा, खुकुरी लगायत हतियारहरू बरामद गरेको थियो । प्रहरीले उनीहरूमाथि डाँका चोरी तथा हातहतियार खरखजना सम्बन्धी कसूर मुद्धामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।





