अपराध

    सल्यानमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या 

    नवलपुर टुडे
    २०८० मंसिर २० | मध्यान्ह ०३:०८ बजे

      सल्यान, मंसिर २० । सल्यानमा दाउरा र बञ्चरो प्रहार गरी एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

      जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ का ४५ वर्षीय डम्मर सार्कीले दाउरा र बञ्चरो प्रहार गरी ४० वर्षीया श्रीमती शितली सार्कीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । घटना मंगलबार बेलुकी आठ बजेतिरको भए पनि बुधबार बिहान सवा ८ बजेतिर मात्रै प्रहरीले खबर पाएको धमलाले जानकारी दिए । 

      छोराछोरी आफन्तको घरमा गएको समयमा डम्मरले श्रीमती शितलीको दाउरा र बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको धमलाले बताए । हत्या आरोपित डम्मर हत्यापछि बुधबार बिहान प्रहरी चौकी ढोरचौरतर्फ आफैं आउन लागेको देखेपछि प्रहरीले नियन्त्रणमा लिएको धमलाले जानकारी दिए ।

      हत्याको कारण खुलिनसकेको तर दुबैले मदिरा सेवनपछि आपसी विवाद हुँदा डम्मरले आवेगमा आएर दाउरा र बञ्चरो प्रहार गरी हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको धमलाले बताए ।

      घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

        कमेन्टहरु