नवलपरासीमा लागूऔषध सहित एक युवक पक्राउ, दुई जना फरार


नवलपरासी, मंसिर २० । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ केरवानीस्थित भित्री सडक खण्डबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।
आज बिहान करिब ७:१० को समयमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब निरीक्षक बिष्णुराज तिमल्सेनाको कमाण्डमा खटिएको प्रहरी टोलिले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ३ जना सवार लु ६४ प ३७८७ नं को मोटरसाईकललाई चेकजाँचका लागि रोक्न खोज्दा मोटरसाईकलमा २ जना भाग्न सफल भएका थिए भने एक जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा मोटरसाईकलमा पछाडी सवार पल्हिनन्दन गाउँपालिका वडा नं. ४ लोहरौली बस्ने वर्ष २१ को सागर गुप्ता रहेका छन् । उनले बोकेको कालो रङ्गको झोलामा लागूऔषध Buprenorphine १९६ एम्पुल, Diazepam १९८ एम्पुल, Phenergan १९८ एम्पुल, हिरोईन जस्तो देखिने खैरो पदार्थ १२ ग्राम फेला परेका प्रहरी नायब उपरीक्षक एवम सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ल्याई राखेको र फरार रहेका अन्य २ जनाको खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।





