अपराध, कर्णाली प्रदेश, घटना

    सोती घटना प्रकरण: जवाफी बहस आज सकिए भोलि फैसला आउन सक्ने

    नवलपुर टुडे
    २०८० मंसिर १९ | बिहान ०७:०८ बजे

      रुकुम । रुकुम पश्चिमको सोती घटना प्रकरणमा रुकुम जिल्ला अदालतमा अन्तिम सुनुवाइ आज पनि हुँदै छ । आज (मंगलबार) प्रतिवादीतर्फका वकिलको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । 

      नियमित सुनुवाइ हुँदा बुधबारसम्म फैसला आउने अपेक्षा गरिएको श्रेस्तेदार मन्दीरा शाहीले जानकारी दिइन् । 

      न्यायाधीश खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुरु भएर हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार खाजा समयअघि सरकारी वकिलको बहस सकिएको छ । 

      श्रेस्तेदार शाहीका अनुसार सोमबार खाजा समयपछि प्रतिवादीहरूका वकिलको बहस सुरु भएको छ । 

      २०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिटबाट हत्या गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको छ । 

      प्रेमिका भनिएकी किशोरीले हत्या भएको स्थानमा नपुगेको बयान दिए पनि उनकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको छ । २०७७ जेठ ३२ मा रुकुम पश्चिम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो । 

      मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो । पदमबहादुर बुढा, शोभे नेपालीलगायतको जाहेरीका आधारमा प्रहरी अनुसन्धान भइ नेपाल सरकारले ३४ जनालाई ज्यान मारेको मुद्दामा जन्मकैद, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावको कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना तथा ज्यान मार्ने उद्योगमा संलग्नहरूको हकमा १० वर्षसम्मको कैद सजायको मागदाबी गरिएको छ । 

      नवराज विक दलित केटा भएकाले पटकपटक घरमा आउने गरेको कुरा परिवारका सदस्यहरूलाई मन नपरेको र आएमा मारिदिनेसम्मको योजना घरमा बनेको बयान नवराजकी पे्रमिका भनिएकीका दाइले दिएका थिए । प्रेमिकाले भने पहिले दलित भन्ने थाहा नभएको तर पछि दलित रहेको थाहा पाएपछि सम्बन्ध तोड्न चाहे पनि आफूसँग विवाह गर्न दबाब दिएको बताएकी थिइन् ।

        कमेन्टहरु