अपराध

    रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक र बेचन झा पक्राउ परे आउन सक्छ नयाँ ‘ट्विस्ट’

    नवलपुर टुडे
    २०८० मंसिर १८ | बिहान १०:०८ बजे

      काठमाडौ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेका केही आरोपी पक्राउ परे अझै घटनाले नयाँ ‘ट्विस्ट’ आउने प्रहरीको दाबी छ । 

      सो प्रकरणमा हाल प्रहरीको फरार सूचीमा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, डा. इन्द्रजित राईका छोरा निरज राई र विचौलिया बेचन झा पक्राउ परे घटनाले थप नयाँ ‘ट्विस्ट’ आउने प्रहरीको दाबी छ ।

      जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले फरार प्रतीक थापालगायतको खोजी जारी रहेको बताए । 

      “यो प्रकरणको अनुसन्धान सकिएको छैन । प्रतीक थापा, बेचन झा भन्ने मान्छे पक्राउ परेपछि नयाँ तथ्य खुल्न सक्छ । उनीहरुसँग थप प्रमाण भेटिए अहिले थुनामुक्त भएकाहरु पुनः पक्राउ पर्न पनि सक्छन्,” एसएसपी खत्रीले भने ।

      प्रतीक थापा र बेचन झामार्फत् ठगीको रकम विभिन्न व्यक्तिसम्म पुगेको आशंका गरिएको छ ।  उच्च अदालतको आदेशले धरौटीमा छुटेका रामशरण केसीमार्फत २ करोड बेचन झा ले बुझेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो ।

      उनले आफू भारतीय दूतावास नजिकको भनेर परिचय गराएका थिए । झाको नेपाली कांग्रेसका नेताहरुसँगसमेत निकटता देखिएको प्रहरीको दाबी छ ।  प्रहरीको अनुुसन्धानले उनी वीरगञ्जका व्यवसायी भएको खुलाएको थियो ।

      393124802_2148080195531505_4377936798335425891_n-1701662777.jpg

      गृहसचिव टेकनारायण पाण्डेसँग पनि उनको सम्बन्ध खुलेको थियो । गिरोहका सदस्यहरूलाई गृहका अधिकारीसँग सम्बन्धसमेत उनैले बनाइदिएको प्रहरीको दाबी छ । गृहमन्त्री बालकृष्ण खाँण र सचिव पाण्डेलाई गिरोहसमक्ष भेट गराउने व्यक्ति नै झा रहेको अनुसन्धानबाट खुलुको छ ।

      हाल उनी फरार छन् । त्यस्तै भुटानी प्रकरणपछि प्रतीक थापासमेत फरार छन् । उनी भारत हुँदै तेस्रो देश पुगेको आशंका प्रहरीको छ । उनी पक्राउ परे थप नयाँ तथ्य खुल्न सक्ने प्रहरीले जनाएको छ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेमाथि अझै प्रहरीले ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ ।
       

        कमेन्टहरु