निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक


पुस २० गतेदेखि निर्वाचनको प्रक्रिया सुरु हुँदैछ । २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने, प्रकाशित मतदाता नामावली उपर दाबी विरोधलगायतका काम त्यसै दिनबाट सुरु हुनेछन्। पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने कार्यक्रम छ।
पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता, २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २६ मा अन्तिम नामावली प्रकाशन हुने कार्यक्रम छ।
‘प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नामहरूको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने’ निर्वाचन आयोगले जनाएको छ।





