नोभेम्बरमा १ लाख बढी पर्यटक नेपाल भित्रिए, लक्ष्य नजिक पुग्यो सरकार


नेपाल सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखेको छ। नोभेम्बर महिनाकोसँगै २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ९ लाख १८ हजार ३ सय ८ पुगेको छ। उक्त सरकारी लक्ष्य भेट्न अब ८० हजार पर्यटकको मात्र खाँचो देखिएको छ। यस वर्षको अन्तिम महिना डिसेम्बरमा सो संख्यामा पर्यटक नेपाल भित्रिए सन् २०३२ मा सरकारले १० लाख पर्यटक भित्राउने संख्यात्मक लक्ष्य पुरा हुनेछ।
पर्यटन बोर्डका निर्देशक तथा प्रवक्ता मणिराज लामिछानेले सन् २०३३ मा १० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य सहजै पुरा हुने बताए। नागरिकसँगको कुराकानी गर्दै निर्देशक तथा प्रवक्ता लामिछानेले भने, ‘डिसेम्बर महिनामा लाखको हाराहारीमा पर्यटन भित्रिन्छ भन्नेमा हामी ढुक्क छौ’ उनले थपे, ‘सरकारले १० लाख पर्यटक भित्राउने लक्ष्य ढुक्कसँग पुरा हुन्छ।’ उनले नेपालमा भित्रिएका पर्यटकहरूको संख्या उत्साहजनक मान्नुपर्ने बताए।
यस्तै अघिल्लो महिना अक्टोबरमा हालसम्मकै धेरै संख्यामा पर्यटक नेपाल भित्रिएका थिए। गएको अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक नेपाल भित्रिएर हालसम्मकै उच्च रेकर्ड राखेको थियो।





