देश, पर्यटन

    प्रधानमन्त्रीको दुबई सवारीः ३१ यात्रु छाडेर उड्यो जहाज, छुटेका यात्रुहरूलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा

    नवलपुर टुडे
    २०८० मंसिर १४ | मध्यान्ह १२:०८ बजे

      काठमाडौँ । जलवायु न्यायका लागि विश्व युवा अभियान्ता प्रज्वलविक्रम राणा आजबाट सुरु हुने जलवायु परिवर्तन सम्बन्धी सम्मेलन ‘कोप–२८’ मा सहभागिका रूपमा हुन दुबई जाँदैथिए। जसका लागि राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो राति ११ः३० उडान भर्ने भनिएको नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९ को जहाजमा टिकट काटेका थिए। उनी अध्यागमनलगायतका प्रक्रियाका लागि पर्याप्त समय पुग्नेगरी बेलुकी साढे आठबजेतिर नै विमानस्थल पुगे।

      विमानस्थल पुग्दा उडान समय भइसकेको भन्दै राणालाई भित्र छिर्न दिइएन । उनले ‘११ः३० बजेको उडान तालिका रहेको जहाज अहिल्यै कसरी समय भयो?’ भनी प्रश्न गरे। तर त्यहाँ रहेका विमानस्थलका कर्मचारीले उक्त जहाज साढे ९ बजे नै उड्न लागेको जानकारी दिएपछि उनी छांगाबाट खसे जस्तै भए।

      प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलको सहजताका लागि नेपाल एयरलाइन्सले निर्धारित समयभन्दा दुई घण्टा अगावै उडान समय संशोधन गरेको रहेछ। जुन कुरा राणाले विमानस्थल पुगेपछि मात्रै थाहा पाए।

      ‘हामीलाई फ्लाइट समय अगाडि सारिएको कुरा नेपाल एयरलाइन्सले जानकारी नै दिएन,’ फेसबुकमा लाइभ गर्दै उनले भनेका छन्,‘यसरी अन्तर्राष्ट्रिय स्तरको उडानमा भिभिआइपीको नाममा भन्दै यात्रुलाई थाहा नदिई उडान समय सारेर नेपाल एयरलाइन्सले गम्भीर लापरवाही गरेको छ।’

      त्यसपछि मात्रै आफूजस्तै ३१ यात्रु नेपालमै छाडेको थाहा भएको राणाले बताएका छन्। ‘त्यहीँ एयरपोर्टमा बाँकी यात्रु पनि अलपत्र छाडेर जहाज उडाइयो। अरु यात्रुहरूलाई पनि फ्लाइट सरेको जानकारी दिइएको रहनेछ,’ राणाले भने।

      त्यसपछि एयरपोर्टमै छुटेका यात्रुहरूलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ। यात्रु छुट्नुको कारण भिभिआइपी फ्लाइट भनेर एयरलाइन्सले लिखित रुपमै यात्रुलाई पत्र थमाएको छ। जसमा आज अर्को व्यवस्था गरेर दुबई पठाउने आश्वासन दिइएको छ।  

      छुटेका यात्रुहरूमध्ये अधिकांस वैदेशिक रोजगारीका लागि दुबई जान लागेका युवाहरू छन्।

        कमेन्टहरु