राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको भेट : कोप–२८ मा आफूले उठाउने मुद्दाका विषयमा जानकारी

नवलपुर टुडे
२०८० मंसिर १३ | मध्यान्ह ०४:०८ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी आफ्नो संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणका एजेन्डाका विषयमा जानकारी गराएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले बुधबार राष्ट्रपति पौडेललाई भेटेर ब्रिफिङ गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन आग्रह गरेका छन् । नेपालले लाभ लिने परिस्थिति सृजना गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।





