राजाको आह्वान, आवाम….


मेरो शरीर
च्वाँस खाएर थ्वाँस गन्हाएको छ ।
मेरो शरीरको इच्छा भन्दै
बेइमानी स्विकारेको छ
विसंगतिलाई उन्नति ठानेको छ ।
भ्रष्टाचार गर्न पाउँ निवेदनमा रमेको छ
अपराधलाई पेशाको रुपमा शिरोधार गरेको छ
कहिंकतै होलि भन्दै गोलि पड्काएको छ ।
मेरो शरीरलाई सत्य नसुहाउने भएको छ
मेरो शरीरलाई न्याय नपच्ने भएको छ
धर्म र इमान लुट्न तिखार्ने औजार बुझिएको छ
शान्तिस्थलमा हतियार कलम हुनुपर्छ सोच त्यस्तै छ
घरगृहस्थी आपसी अपमानमा जुटेको छ
कमिसनको व्यापारमा
मेरो शरीरले जीवन बेचेको छ
बेच्ने क्रम यथावत कायमै छ
यस्तोमा
सृष्टि स्वयमले शरीर धमाउने काम गरेकै छ
भिडको लास शरीर बन्दै मुस्कुराएकै छ
आजभोलि
त्यो मुस्कान, त्यो अपमानबाट मुक्ती खोज्ने प्रयास भएको छ
पहिचान र स्वाभिमानको राजा चाहियो भन्न थालेको छ
अन्धकार बढ्यो उज्यालो खोज्नु पर्यो भनिएको छ
सिद्धान्तले लुटिनु हुन्न अस्मिता भनिएको छ ।





