साहित्य

    राजाको आह्वान, आवाम….

    जगत ठाडा मगर
    २०८० मंसिर ११ | मध्यान्ह ०७:०८ बजे

      मेरो शरीर
      च्वाँस खाएर थ्वाँस गन्हाएको छ ।

      मेरो शरीरको इच्छा भन्दै
      बेइमानी स्विकारेको छ
      विसंगतिलाई उन्नति ठानेको छ ।

      भ्रष्टाचार गर्न पाउँ निवेदनमा रमेको छ
      अपराधलाई पेशाको रुपमा शिरोधार गरेको छ
      कहिंकतै होलि भन्दै गोलि पड्काएको छ ।

      मेरो शरीरलाई सत्य नसुहाउने भएको छ
      मेरो शरीरलाई न्याय नपच्ने भएको छ
      धर्म र इमान लुट्न तिखार्ने औजार बुझिएको छ
      शान्तिस्थलमा हतियार कलम हुनुपर्छ सोच त्यस्तै छ
      घरगृहस्थी आपसी अपमानमा जुटेको छ
      कमिसनको व्यापारमा
      मेरो शरीरले जीवन बेचेको छ
      बेच्ने क्रम यथावत कायमै छ
      यस्तोमा
      सृष्टि स्वयमले शरीर धमाउने काम गरेकै छ
      भिडको लास शरीर बन्दै मुस्कुराएकै छ
      आजभोलि
      त्यो मुस्कान, त्यो अपमानबाट मुक्ती खोज्ने प्रयास भएको छ
      पहिचान र स्वाभिमानको राजा चाहियो भन्न थालेको छ
      अन्धकार बढ्यो उज्यालो खोज्नु पर्यो भनिएको छ
      सिद्धान्तले लुटिनु हुन्न अस्मिता भनिएको छ ।

        कमेन्टहरु