पर्सामा लठ्ठी प्रहार गरी हजुरबुवाको हत्या

नवलपुर टुडे
२०८० मंसिर ११ | मध्यान्ह ०१:०८ बजे

पर्सा, मंसिर ११ । पर्सामा हजुरबुवाको हत्या आरोपमा नाती पक्राउ परेका छन् ।
ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा प्रहरीले उनका नाती ३५ वर्षीय कृष्ण खड्कालाई पक्राउ गरेको हो । कृष्ण लक्ष्मणको छोरीपट्टीको नाति हुन् ।
आफ्नै आँगनमा लट्ठीले कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले लट्ठी मागेको कारण कृष्णले लट्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हजुरबुवाको मृत्युपछि फरार भएका कृष्णलाई ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले आइतबार दिउँसो जंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





