सुदुरपश्चिम प्रदेश

    नेपालगन्जबाट जरायोलाई नियन्त्रणमा लिई निकुञ्ज पठाइयो

    नवलपुर टुडे
    २०८० मंसिर १० | बिहान ११:०८ बजे
    वनको प्राविधक टोलीले नियन्त्रणमा लिने क्रममा खेतमा रहेको जरायो । तस्बिर : गजेन्द्र गुरुङ

      नेपालगन्ज, मङ्सिर १० गते । नेपालगन्ज बजारबाट बन्यजन्तु जरायोलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज पठाइएको छ । नेपालगन्ज उपमहानगरपालिका १८ स्थित बस्तीबाट जङ्गली जनावर जरायोलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको नेपालगन्ज सव डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिनुभयो ।

      शनिबार बिहान कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको अवस्थामा जरायो पाइएको पार्धेले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ्ग टोलीलाई बोलाएर धेरै लामो प्रयासपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

      “शनिबार बिहान ५ बजेको समयतिर कुकुरले लखेट्दै ल्याउँदा सो जरायो नेपालगन्ज १८ स्थित भाटभटेनी सुपर मार्केटको पूर्वपट्टीको खेतमा रहेको खाडलमा खसेको रहेछ, खाडलबाट भाग्न सकेन । स्थानीयले खबर गरेपछि वनको प्राविधिकसहितको टोली त्यहाँ पुग्यौं, नियन्त्रणमा लिन प्रयास गर्‍यौं सकिएन ।,” उहाँले भन्नुभयो, “त्यसपछि अग्लो जाल लगाएर छेक्यौं र बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ टोलीलाई खबर गर्‍यौं ।” बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ टोली आइसकेपछि खाडलमै रहेको अवस्थामा ‘डार्ट’ प्रयोग गरेको र ‘डार्ट’ गरिसकेपछि जरायोले अग्लो बनाएर छेकेको जाल समेत उफ्रेर नाघेर सडकतिर भागेको उहाँले बताउनुभयो । पार्धेका अनुसार भागेको जरायोलाई लखेट्दै जाँदा अत्तालिएर एक स्थानीयको घरको कोलियाभित्र पसेपछि त्यहाँबाट नियन्त्रणमा लिइएको हो ।

      ‘डार्ट’ प्रयोग गरेको करिब दुई घण्टापछि मात्र नियन्त्रणमा लिन सकिएको उहाँले बताउनुभयो । करिब १५० किलोको भाले जातिको उक्त जरायो कसैले घरमा पालेको हुन सक्ने पार्धेले बताउनुभयो । “कसैले घरमा पालेको जरायो हुनसक्छ, हेर्दा घरमा पालेको जस्तो देखिन्थ्यो, घरबाट फुस्केर बाहिर निस्केपछि कुकुरले लखेट्दै ल्याउँदा खाडलमा खस्यो ।,” उहाँले भन्नुभयो, “करिब १ सय ५० किलोको सो जरायो भाले जातिको हो ।”

      ‘डार्ट’ प्रयोग गरि नियन्त्रणमा लिइएको उक्त जरायोलाई शनिबार नै राप्तीसोनारी ८, ओभरीस्थित बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको सहायक वन डिभिजन अधिकृत पार्धेले जानकारी दिनुभयो ।

        कमेन्टहरु