सीमापारि नै रोकियो मुर्रा राँगा

नवलपुर टुडे
२०८० मंसिर ६ | मध्यान्ह ०७:०८ बजे

नेपालगञ्ज । भारतले नेपाललाई दिन थालेको मुर्रा राँगा रुपैडियामा रोकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको जेठमा भएको भारत भ्रमणका बेला नेपाललाई १५ वटा मुर्रा जातको राँगा दिने सहमति भएको थियो।
त्यही सहमतिअनुसार भारतले पठाएको राँगा नेपालगञ्ज नाका भएर भित्र्याउने तयारी गरिएको थियो। हरियाणाबाट ल्याइएको राँगाको कागजी प्रक्रिया नेपालतर्फबाट पूरा नभएपछि रुपैडिया कस्टमले राँगा रोकेको छ। नाकामा रहेको जमुनाहा प्रहरी कार्यालयका ईन्चार्ज मिनबहादुर विष्टले कागजी प्रक्रिया पुर्याएर भोलि राँगा ल्याइने बताए।
उन्नत जातका ती रांगालाई नेपालगञ्ज, पोखरा र लाहानमा राखेर वीर्य उत्पादन गर्ने रणनीति बनाइएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा मुर्रा राँगा ल्याउने सहमति भएपछि नेपालमा त्यसविरुद्व विभिन्न टिकाटिप्पणी भएको थियो।





