देश, धर्म–संस्कृति/रीतिथिति

    राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा

    नवलपुर टुडे
    २०८० मंसिर ३ | मध्यान्ह ०६:०८ बजे

       काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् ।काठमाडौं उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चन भइरहेको छ ।

      काठमाडौं महानगरपालिकाद्वारा आयोजित छठपूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गरेको कमलपोखरी छठ पूजा समाजका सल्लाहकार दीपेन्द्र झाले जानकारी दिए । छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुगेका थिए ।

      भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । ललितपुरको कुपण्डोललगायत क्षेत्रमा पनि छठ पूजाको रौनक बढेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ ।

      यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वको उपलक्ष्यमा पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सक्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।

       

       

        कमेन्टहरु