जाजरकोटमा चिसोले दुई जनाको मृत्यु


जाजरकोट, मङ्सिर १ गते । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका २ का ८८ वर्षिय धुलेश्वर कार्की र बारेकोट गाँउपालिका ४ जिरीका नरेन्द्र बहादुर सिंहको मृत्यु भएको हो ।
कार्की र सिंह दुवै दमका दिर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दा दुवैको ज्यान गएको स्थानीयले बताएका छन् । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार बढी परिवार घरवार त्रिपालमुनी बस्दै आएका छन् ।
त्रिपालमुनीको बसाईले बालबालिका, सुत्केरी, दिर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा स्वासप्रस्वास सम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड ४ मा चिसोका कारण दुई जना दिर्घरोगीको ज्यान गएको थियो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार ले चिसोले बालबालिका, सुत्केरी, दिर्घरोगी र वृद्धवृद्धालाई असर पारेको र त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभयो ।





