बागमती प्रदेश

    चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

    रासस
    २०८० मंसिर १ | बिहान ०७:०८ बजे
    प्रतीकात्मक तस्बिर

      चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । 

      निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । 

      दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, “६ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।” 

      ६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । 

      बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए । यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन् । गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए । 

        कमेन्टहरु