पूर्वी नवलपरासी हुप्सेकोटबाट शैक्षिक भ्रमणमा गएको गाडी धरानमा दुर्घटना, २२ विद्यार्थी घाइते


पूर्वी नवलपरासी, कात्तिक २५ । पूर्वी नवलपरासीको हुप्सेकोटबाट शैक्षिक भ्रमणमा धरान गएको बससहित तीनवटा बस ठोक्किएर दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन्।
हुप्सेकोट गाउँपालिका–४ स्थित जनकल्याण राष्ट्रिय माविबाट शैक्षिक भ्रमणमा गएको उक्त बसको ब्रेक फेल भई शैक्षिक भ्रमणमै म्याग्दीबाट आएको ग २ ख १५८३ र स्याङ्जाबाट आएको ग २ ख १५१३ नम्बरको बसलाई ठक्कर दिएको डीएसपी भण्डारीले जानकारी दिए । म्याग्दीबाट गएको बसलाई पछाडिबाट ठक्कर दिएपछि अनियन्त्रित भएको नवलपरासीको बसले त्यसअगाडि गुडिरहेको स्याङ्जाको विद्यार्थी बससँग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा तीन वटा बसमा सवार विद्यार्थीमध्ये २२ जना घाइते भएका थिए । उनीहरूलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि शुक्रबार राति नै डिस्चार्ज गरिएको डीएसपी भण्डारीले जानकारी दिए । सबै विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी भण्डारीले बताएका छन ।





