देश

    रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

    नवलपुर टुडे
    २०८० कार्तिक २३ | मध्यान्ह ०६:०७ बजे

      काठमाडौँ। नेपाली सेनाको साङ्गठनिक स्वरूप, जिम्मेवारी र भूमिका लगायतका विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । यही कार्तिक १९ गतेबाट  जङ्गी अड्डामा सञ्चालन भएको उक्त अभिमुखीकरण सम्पन्न भएको हो। समारोहमा बलाध्यक्ष रथी श्री सिताराम खड्काले कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई प्रमाण-पत्र वितरण गरे ।

      talim2 scaled

       

      समारोहलाई सम्बोधन गर्दै रथी खड्काले यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमबाट नेपाली सेनाले अङ्गीकार गर्दै आएको राष्ट्रिय सुरक्षा, जनहितको रक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विश्व शान्ति प्रवर्ध्दन जस्ता अति नै संवेदनशील संविधान प्रदत्त जिम्मेवारीहरूको सम्बन्धमा यथार्थ परक सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता प्राप्त हुने विश्वास व्यक्त गरे ।

      सञ्चार माध्यममार्फत कुनै पनि विषयबस्तुमा सम्प्रेषण हुने सूचनाले आम जनमानसको त्यसप्रतिको धारणामा प्रभाव पार्ने हुँदा निस्वार्थ भावले राष्ट्र सेवामा समर्पित राष्ट्र सेवकहरूको सन्दर्भमा समाचार सम्प्रेषण गर्दा संवेदनशीलताको आवश्यकता रहेको उनले उल्लेख गरे ।

      समापन समारोहमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । जङ्गी अड्डामा ५ दिनसम्म सञ्चालित अभिमुखीकरण कार्यक्रमका सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा प्रस्तुतीकरण गरिनुका साथै नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमण गराइएको थियो ।

        कमेन्टहरु