अछाममा एक युवकको हत्या गरेर फरार भएकी महिला काठमाडौंबाट पक्राउ


काठमाडौं, कात्तिक २३ । अछाममा एक युवकको हत्या गरेर फरार भएकी एक महिला काठमाडौबाट पक्राउ परेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अछामको पञ्चदेवल विनायक नगरपालिका – ८ बारालाका ३० वर्षीय लक्ष्मी सुनारलाई काठमाडौं महानगरपालिका – १६ माछापोखरीबाट बुधबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए । अछाममा छिमेकी १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या भएपछि उनी काठमाडौं भागेर आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदका अनुसार घटना कात्तिक ११ गते भएको हो । लक्ष्मी सुनारसहित ७ जनाले छिमेकी शाहीमाथि कुटपिट गरेको आरोप छ । ‘निजी रिसिइबीका कारण उनीहरूले युवकमाथि कुटपिट गरेका थिए । एक जनाले ढुंगाले कन्चटमा प्रहार गरेपछि गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक साउँदले भने ।
कुटपिटबाट गम्भीर घाइते भएका शाहीलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो ।उपचारको क्रममा उनको कात्तिक १६ गते मृत्यु भएको थियो ।
मृतक परिवारले सुरूमा ७ जनाविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । जाहेरीपछि सातै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।





