अपराध

    २० रुपैयाँको विवादमा वृद्धाको हत्या

    रासस
    २०८० कार्तिक २३ | मध्यान्ह ०१:०७ बजे

      अर्घाखाँची, कात्तिक २३ । अर्घाखाँचीमा २० रुपैयाँका लागि भएको विवादले एक वृद्धाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।

      मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक प्रतित सिंह राठोरले बताए ।

      यही कात्तिक १४ गते २० रुपैयाँ नतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्ररुप लिँदै गएपछि घरमा एक्लै रहेकी वृद्धा भुसाललाई मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

      हत्यापछि वृद्धासँग भएको नगद र सुनका गरगहनासमेत चोरेर नेपाली फरार भएका थिए । अहिले नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद गराएर अनुसन्धान थालिएको छ ।

      जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालीलाई सार्वजनिक गरिएको थियो । 

        कमेन्टहरु