कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान


काठमाडौं, कात्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग बाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
‘नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु,’ उनले भने । कृषि, जलस्रोत, पर्यटन जस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको उनले बताए ।
‘नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ। म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु’, उनले भने।
राष्ट्रपति पौडेलले गत शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गरेका छन् ।
उनले साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताए । ‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला हो । साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्,’ उनले भने ।
उनले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र नभई, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार रहेको पनि बताए ।





