देश

    राहत र पुनर्स्थापनामा एकद्वार प्रणाली अपनाउन संसदीय समितिको निर्देशन

    जगत ठाडा मगर
    २०८० कार्तिक २० | बिहान ०७:०७ बजे
      काठमाडाैं ।  संसदीय समितिले जाजरकोट भूकम्पबाट प्रभावितहरूको राहत र पुनर्स्थापना कार्यमा एकद्वार प्रणाली अपनाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले भूकम्पले पुर्‍याएको क्षतिका सन्दर्भमा तत्काल घाइतेहरूको उद्धार एवं शीघ्र र निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । 

      आइतबार बसेको समिति बैठकले विनाशकारी भूकम्पले पश्चिम नेपालको जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा पुर्‍याएको जनधन र पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावकारी राहत र उद्धारमा सरकारको ध्यानाकर्षण गराएको हो । ‘तत्काल राहत र पुनस्र्थापना कार्यमा राज्यका सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी रूपमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्नू,’ सरकारलाई निर्देशन गरेको छ । 

      यसैगरी भूकम्पको क्षतिउपर राहत एवं पुनस्र्थापना कार्यमा सम्पूर्ण स्वदेशी तथा विदेशी दातृ निकाय, राज्यका सबै तह, निकाय, संघसंस्था एवं सम्पूर्ण नागरिकलाई सहयोगका लागि एकजुट हुन समितिले अपिल गरेको सभापति प्रकाश पन्थले जानकारी दिए । बैठकमा सांसदहरूले भूकम्प प्रभावितको उद्धार, राहत र सुरक्षित पुनस्र्थापनामा कुनै कसर बाँकी नराख्न सरकारसँग माग गरेका थिए ।

        कमेन्टहरु