सिरहामा लागूऔषध सहित एक जना पक्राउ


राजेन्द्र महतो
सिरहा, कार्तिक १८ । सिरहामा प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. ११ का ३३ वर्षीय सन्तोष चौधरी रहेका छन् ।
जिल्लाको भगवानपुर गाउँपालिका वडा नं. ०१ भगवानपुरस्थित हुलाकी मार्गमा अस्थायी प्रहरी पोष्ट भगवानपुर सिरहाबाट प्रहरी सहायक निरीक्षक मुना साहको कमाण्डमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको स ९ प ८२५१ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनि कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको लागूऔषध फेला परेको हो ।
चौधरीको साथबाट प्रहरीले DIALEX-DC लेखिएको– १ बोतल, फेनरगन लेखिएको ३० एम्पुल, डाईजेपाम लेखिएको ३० एम्पुल, ब्रुफेनोरफिन लेखिएको ३० एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
लागूऔषध र मोटरसाईकल सहित चौधरीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





