अपराध

    सिक्रीको विषयमा विवाद हुँदा दुई भारतीय युवकले गरे एक नेपाली युवकको हत्या

    नवलपुर टुडे
    २०८० कार्तिक १० | मध्यान्ह ०१:०७ बजे

      जनकपुरधाम, कार्तिक १० । महोत्तरीमा दुई जना भारतीय युवकले छुरा प्रहार गरेर एक नेपाली युवकको हत्या गरेको छ ।

      घाँटीमा लगाउने सिक्रीको विषयमा विवाद हुँदा भारत बिहार मधुबनि जयनगर घर भएको वर्ष १९ का दीपक मलिक र मधुबनि साहारघाट बसबरिया घर भएका वर्ष १८ का अमित मलिकले छुरा प्रहार गरी नेपालको पिपरा गाउँपालिका – ५ हर्दियाका अन्दाजी वर्ष १९ का वसन्त पासवानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

      महोत्तरीको सहोडवास्थित दसैँको दुर्गा मेलामा सिक्रीको विषयमा उनीहरुबीच विवाद भएको डीएसपी गिरीले बताए । विवादपछि अमित मल्लिकले पासवानलाई पछाडिबाट समातेर दीपक मलिकले पटक पटक घाँटी र छातीमा छुरा प्रहार गरी निर्मम रूपमा हत्या गरेका थिए । 

      मृतक पासवानको शव बिहीबार साँझ ४ बजे स्थानीय जगदीश साहको खेतमा फेला परेको डीएसपी गिरीले जानकारी दिए ।

      प्रहरीले मृतक पासवनको हत्यामा प्रयोग भएको छुरा र सो बखत लगाएको लुगासमेत रगताम्य अवस्थामै बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरु नेपालस्थित स्थानीय मामा सुरेश मलिकको घरमा बस्दै आएको थिए । छुरा उनीहरूकै सानीआमाकै घर पछाडिबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

      photo 2023 10 27 13 13 30

      हत्यामा संलग्न आरोपमा पक्राउ उनीहरू उपर थप अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।

        कमेन्टहरु