सुदुरपश्चिम प्रदेश

    ‘७२ वर्षको उमेरमा नेपाली नागरिक भँए’

    रासस
    २०८० कार्तिक २ | मध्यान्ह ०४:०७ बजे

      अछाम ।  अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्।

      मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका हुन्।

      रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहेका साउदले नागरिकता लिन पाएका थिएनन्। बुढेसकालमा नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको महसुस भएको साउदले सुनाए। 

      आफूले नागरिकता नबनाएका कारण छोराछोरी पनि नागरिकताबिहीन भएको उनको भनाइ छ। ‘ढिलै भएपनि मैले नागरिकता पाएँ, अब छोराछोरीलाई नागरिकता दिलाउँछु’, उनले भने।

      पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अछामले कागजपत्र पूरा भएको खण्डमा आधा घण्टामै सेवा दिने अभ्यास सुरु गरेको छ। जसले गर्दा पछिल्लो समय भिडभाड पनि कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ।

        कमेन्टहरु