देश

    चीन र भारतसँग सीमा जोडिएका क्षेत्रका वडाध्यक्षहरुसँग सशस्त्र प्रहरीको अन्तर्क्रिया

    जगत ठाडा मगर
    २०८० कार्तिक २ | मध्यान्ह १२:०७ बजे

      काठमाडौं । वडा दशैंलगायतका चाडपर्वहरुको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत तथा नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम गरेको छ ।

      ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सुरुवात गरी सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती वडाका वडाध्यक्षहरुसँग कार्तिक १ गते शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो । प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालको बाहिनी मुख्यालयहरुमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बदलिदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र सम्भाव्यता सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो ।

      कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह, सीमावर्ती अपराध तथा गैह्र कानूनी क्रियाकलापहरुलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचानलगायत सीमावर्ती ईलाकाका समुदाय तथा बासिन्दासँग निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वय गर्ने सम्बन्धमा छलफल भएको थियो ।

      apf and oda

       

      यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको उपस्थितिमा मधेश प्रदेशस्थित  २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न कार्यक्रममा सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सीमावर्ती ईलाकाका सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

      अतिरिक्त महानिरीक्षक दाहालले सीमा क्षेत्रका जनप्रतिनिधिहरुले भोग्नुपरेको समस्या र सीमानामा भएका समस्याहरु बारेमा जानकारी लिनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

      कार्यक्रममा २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरी बल, नेपालको औचित्यता प्रष्ट पार्नुहुँदै राज्यद्वारा प्रद्धत्त कार्यादेश मध्ये देशको अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए

      यसैगरी कोशी प्रदेशस्थित १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेल, ३ नम्बर गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मणबहादुर सिंह, ४ नम्बर मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौबजी, ५ नम्बर विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको उपस्थितिमा सीमावर्ती वडाका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।

      apf

      कोशी प्रदेशको भारत र चीनसँग सीमा जोडिएको ८३, मधेश प्रदेशको १ सय ४३,  बाग्मती प्रदेशको २३, गण्डकी प्रदेशको १८, लुम्बिनी प्रदेशको ८९ र सुदूरपश्चिम प्रदेशको ७६ वटा वडाका अधिकांश वडाअध्यक्षहरु उपस्थिती रहेको थियो । गण्डकी प्रदेशको मुस्ताङ, मनाङ र गोर्खाका सीमा जोडिएका वडाका वडाध्यक्षहरुसँग प्रत्यक्ष भिडियो मार्फत अन्तरक्रिया गरिएको थियो भने कर्णाली प्रदेशस्थित सीमावर्ती वडाका वडाध्यक्षहरुसँग निकट भविष्यमा अन्तरक्रिया कार्यक्रम गरिने योजना रहेको छ ।

      सशस्त्र प्रहरी बल, नेपालले अन्तर्राष्ट्रिय सीमा जोडिएका वडाका वडाध्यक्षहरुको संयोजकत्वमा ३ सय २६ वटा सीमा सहजिकरण समिति गठन गरी कार्य प्रारम्भ भईरहेको र यसलाई थप प्रभावकारी बनाउन ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको सुरुवात गरिएको हो ।

      sima security

        कमेन्टहरु