उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा


काठमाडौ, असोज ३० । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुगेका छन् ।
बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री श्रेष्ठलाई चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउन र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले स्वागत गरेका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् । आज उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ । उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुने छन् । उनले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ ।





