सशस्त्र प्रहरीद्धारा सीमा इलाकामा १२२ हेल्प डेस्क र ३३ हेल्थ डेस्क स्थापना


काठमाडाैं । सशस्त्र प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सर्वसाधारणको सुरक्षाका लागि सीमानामा सहायता कक्ष स्थापना गरेको छ । सशस्त्रले मुलुकका विभिन्न १२२ स्थानमा हेल्प डेस्क तथा ३३ स्थानमा हेल्थ डेस्कको स्थापना गरेको हो ।
सशस्त्रका अनुसार भारततर्फको सीमावर्ती इलाकामा १२० सहायता कक्ष र ३० स्वास्थ्य कक्ष तथा चीनतर्फ दुई स्थानमा सहायता र तीन स्थानमा स्वास्थ्य कक्ष राखिएको छ । जसमा बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५, छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत ५३, गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत २, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत २, विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत १९, महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा सहायता कक्ष स्थापना भएको छ ।
त्यस्तै, बराह बाहिनी मुख्यालयअन्तर्गत ४, छिन्नमस्ता मातहत २२, गढीमाई मातहत ३, विन्ध्यावासिनी मातहत ३ र वैद्यनाथ बाहिनीअन्तर्ग १ स्थानमा स्वास्थ्य कक्ष राखिएको छ । सशस्त्रले आवश्यकता अनुसार अन्य स्थानमा समेत सहायता र स्वास्थ्य सेवा कक्षहरु स्थापना गरी सेवा प्रदान गरिने जानकारी दिएको छ ।





