देश

    तनहुँमा बाख्राको दूधबाट बनेको चिजको माग बढ्यो

    रासस
    २०८० अशोज २२ | बिहान ०९:०६ बजे

      तनहुँ, असोज २२ । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुने गरेको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्ने गरेको हो ।

      पाँच वर्ष पहिले अमेरिकाबाट आएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनीले बाख्रा फार्ममै तीन महिना बसेर दूधबाट चिज बनाउने प्रविधि हस्तान्तरण गरेका थिए । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले सोही प्रविधि सिकेर दूधबाट चिज बनाउन शुरु गरेको जानकारी दिए ।

      ‘तत्कालीन समयमा बाख्राको दूधबाट चिज बनाउने बारेमा हामीलाई कुनै पनि जानकारी थिएन’, आचार्यले भने, ‘अहिले यहाँ उत्पादित बाख्राको चिज पोखरा र केही मात्रामा बन्दीपुरमा समेत खपत हुने गरेको छ ।’

      कार्यक्रमको फार्ममा हाल सानेन जातका ५५ बाख्रा छन् । सानेन दूध दिने प्रजातिको बाख्रा हो । फार्ममा एउटा बाख्राले लैनो अवस्थामा करिब चार लिटरसम्म दूध दिने र हाल दैनिक करिब ४२ लिटर बाख्राको दूध संलन हुने गरेको उनले बताए । एक किलोग्राम चिज उत्पादन गर्न करिब आठ लिटर दूध आवश्यक पर्ने र आफूहरुले मासिक करिब १५० किलोग्राम चिज उत्पादन गरी बिक्री गर्दै आएको अधिकृत आचार्यले जानकारी दिए । बाख्राको चिजको मूल्य बजारमा करिब तीन हजार किलोग्राम भए पनि यहाँ भने प्रतिकिलो एक हजार रुपैयाँमात्र लिने गरिएको छ ।

      पोखरामा आउने विदेशी पर्यटकले बाख्राको चिजको माग गरेपछि आफूले बाख्राको चिज किन्ने गरेको पोखराका व्यवसायी रवि दुवाले बताए । आफूले मोबाइलबाट चिज अर्डर गर्ने र खरिद रकम भने अनलाईन बैंकिङमार्फत कार्यक्रमको खातामा जम्मा गर्ने गरेको उनले जानकारी दिए ।

      ‘अहिले पोखरामा आउने अधिकांश विदेशी पर्यटकको रोजाइमा बाख्राकै चिज पर्ने गरेको छ’, व्यवसायी दुवाले भने, ‘बन्दीपुरको चिजलाई पर्यटकले समेत निकै मन पराएका छन् ।’ राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटारबाट दुई वर्ष पहिले उत्पादित बाख्राको चिजको परीक्षण गर्दा गुणस्तरीय देखिएपछि सबैको पहुँचमा पुगोस् भनेर बिक्री खुला गरेको कार्यक्रमका संयोजक राजु कँडेलले बताए ।

      ‘बाख्राको चिजको माग अहिले काठमाडौँबाट समेत हुने गरेको छ तर पुर्‍याउन सकेका छैनौँ’, उनले भने, ‘हामीले चिज उत्पादनसँगै विभिन्न प्रजातिका बाख्राको नश्ल सुधारमा अनुसन्धान गर्दै आइरहेका छौँ।’ बाख्राको दूध र चिज क्यान्सर प्रतिरोधात्मक भएको भन्दै अधिकांशले चिजको बारेमा चासो राख्ने गरेकोसमेत संयोजक कँडेलले बताए ।

      २०७१ मा कृषि खाद्य सुरक्षा आयोजनामार्फत अष्ट्रेलियाबाट ५० माउ र सात वटा बोका ल्याएर बाख्राको नश्ल सुधारमा अनुसन्धान सुरु गरिएको कार्यक्रमले जनाएको छ । कार्यक्रमले अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको बाठोसमेत उपलब्ध गराउँदै आएको छ ।

      कार्यक्रममा हाल अनुसन्धानको लागि बोर, सानेन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब ५०० बाख्रा छन् ।

        कमेन्टहरु