अपराध

    ८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    नवलपुर टुडे
    २०८० अशोज १९ | मध्यान्ह १२:०६ बजे

      काठमाडौं, असोज १९ । काठमाडौंको जोरपाटीमा मादक पदार्थ सेवन गरेर ८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बाबुविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

      २०७९ माघ ८ गते छोरीलाई बलात्कार गरेको भन्दै श्रीमान्‌विरुद्ध श्रीमती (आमा) ले जाहेरी दिएकी थिइन् । जाहेरवालाका अनुसार छोरीले गत भदौ १४ गते करिब एक वर्ष पुरानो घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् ।

      बालिकाले बाबुले मादक पदार्थ सेवन गरेर आएर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । ल्होसारका दिन आमा बाहिर गएको र दिदी अर्कै कोठामा रहेको मौकामा बाबुले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

      पक्राउ परेका बाबुले आफूलाई श्रीमतीले फसाएको र छोरीमाथि कहिल्यै त्यसो नगरेको दाबी गरेका छन् । भदौ १४ गते छोराको जन्मदिन मनाएर आफू ललितपुरको चापागाउँमा गलैँचा कारखानामा काम गरेर बसेको र भदौ २३ गते कोठामा फर्कँदा श्रीमतीले प्रहरी लगाएर पक्राउ गरेको उनले बयानका क्रममा उल्लेख गरेका छन् ।

      उनीविरुद्ध १६ देखि २० वर्षसम्मकै कैद सजाय माग गरिएको छ । हाडनातामा भएको बलात्कारमा थप ३ देखि ६ वर्ष कैद पनि मागदाबी लिइएको छ ।

        कमेन्टहरु