कार्यवाहक प्रधानमन्त्री खड्का र गृहमन्त्री श्रेष्ठले गरे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल


काठमाडौँ, भदौ ३१ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।
आइतबार रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री खड्का र गृहमन्त्री श्रेष्ठले मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुखसँग छलफल गरेका हुन् ।
छलफलमा खड्काले सुरक्षा निकाय प्रमुखसँग देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए । उनले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा सामाजिक सद्भाव खलबलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए । साथै बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने व्यवस्था मिलाउन, कालोबजारी र कृत्रिम अभाव तथा मूल्य वृद्धि हुन नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न उनले निर्देशन दिएका छन् ।
नेपालीहरुका महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाई समेत थप प्रभावकारी बनाउँदै कहिकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न कार्यवाहक प्रधानमन्त्री खड्काले निर्देशन दिए ।
यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा सामाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको छलफलका क्रममा राजनीतिक र आपराधिक घटनाहरु समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा आपराधिक गतिविधि हुन सक्ने कुरामा ध्यान दिन निर्देशन दिए ।
छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराएका थिए ।





