गैह्रीगाउँ हत्याकाण्ड : सिन्धुपाल्चोकका सञ्जय भण्डारीले हत्या गरेको खुलासा


काठमाडौँ, भदौ ३१ । काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्विकार गरेका छन् । सिन्धुपाल्चोक घर भएका भण्डारीले सामूहिक हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ ।
उनलाई केही बेरमा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा एकै परिवारका ३ जना सहित ४ जनाको हत्या भएको थियो । मिलका सुरक्षा गार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेल उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, आमा करिब ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो । यस्तै मोरङ घर भएका १९ वर्षीय नवीन राईको पनि हत्या भएको थियो ।
पक्राउ परेका भण्डारीले नवीन राईको मात्र हत्या गर्न मिल पुगेको खुलेको छ । मिलमा रहेका अरू तीन जनाका कारण आफू पक्राउ पर्न सक्ने डरले उनले अरूको पनि हत्या गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ । आइतबार प्रहरीले सिसिटिभी फुटेजको आधारमा भण्डारीलाई पक्राउ गरेको हो । उनी राति साढे ११ बजे उक्त मिलबाट निस्किएका थिए ।





