अपराध

    हेटौंडाबाट ९१९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    नवलपुर टुडे
    २०८० भदौ ३१ | मध्यान्ह ०३:०५ बजे

      हेटौंडा, भदौ ३१ । मकवानपुरबाट ठूलो परिणाममा लागू औषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो ।

      ४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफूहरुले सवारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आज बिहान ४ बजे गाँजा र ट्रकसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए ।

      एसपी कार्कीका अनुसार भारतीय एन एल ०१ एसी २१४४ नम्बरको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको हो । भारतबाट मकै ल्याएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए ।

      पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेका छन् । उनीहरुले एक जना नेपालीको नाम र नम्बर बताएकोले त्यस विषयमा अनुसन्धानको प्रक्रिया अघि बढाएको एसपी कार्कीले जानकारी दिए ।

        कमेन्टहरु