दुर्घटना

    दाङमा फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा १३ वर्षीय बालकको मृत्यु, ६ जना घाइते

    नवलपुर टुडे
    २०८० भदौ ३१ | मध्यान्ह ०१:०५ बजे

      दाङ, भदौ ३१ । दाङको तुलसीपुरमा फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

      आइतबार बिहान सवा ९ बजे नेपालगंजबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर – १६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नम्बरको अटोरिक्सालाई तुलसीपुर – ६ स्थित स्टार चोकमा ठक्कर दिएको थियो ।

      ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर – १६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले जानकारी दिए ।

      यस्तै घाइते हुनेमा अटो चालक तुलसीपुर – ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्की, अटोमा सवार तुलसीपुर – १६ डोक्रेनाका ११ बर्षीया बर्षा बस्नेत, उनकी ६ बर्षीया बहिनी श्रृष्टी बस्नेत, सोही ठाउँका १८ बर्षीया अन्जु डाँगी रहेका छन् । अन्य दुइको अवस्था भने सामान्य रहेको डिएसपी पोखरेलले बताए ।

      उनका अनुसार अटो चालक कार्कीको अवस्था गम्भीर छ । उनको टाउँको र अनुहारमा गहिरो चोट पटक लागेको छ । कार्कीलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । अन्य घाइतेहरुको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ ।

      ठक्कर दिएर गाडीका चालक फरार भएका थिए । अहिले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी पोखरेलले जानकारी दिए । 

        कमेन्टहरु