प्रतिनिधि सभाको बैठक बस्दै, शोक प्रस्ताव पारित गरिने

नवलपुर टुडे
२०८० भदौ २८ | बिहान १०:०५ बजे

काठमाडौं, भदौ २८ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।
आजको बैठकमा संविधान सभा अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।
इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा गत सोमबार राति निधन भएको थियो ।
हृदयघात भएका उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
नेम्वाङको बिहीबारै पशुपति आर्यघाटमा हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिँदै छ ।





